प्रहार समाचार । तनहुँ, ३१ साउन २०८२ शनिवार । उपभोक्ताले प्रयोग गर्ने पेट्रोलको भाउ बढेको छ भने डिजेल र मट्टितेल भने सस्तो भएको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरी काठमाडौं, पोखरा र दीपायल डिपो क्षेत्रमा अब खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएर १४९ रुपैयाँ कायम गरिएको छ ।
निगमले बिक्री–वितरण क्षेत्रअनुसार पनि मूल्य फरक हुने जनाउँदै सुर्खेत र दाङ डिपोअन्तर्गतका क्षेत्रमा समेत नयाँ दर लागू हुने जनाएको छ । पेट्रोलको खरिद मूल्य बढ्दै आएको र डिजेल–मट्टितेलको खरिद मूल्य घटेकै कारण सोअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
























