प्रहार समाचार । तनहुँ, ३० साउन २०८२ शुक्रवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सार्ने प्रक्रिया अघि बढेको छ। कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले स्वयं निवेदन दिएपछि विभागले नक्खु कारागारसँग आधिकारिक पत्राचार गरिसकेको हो।

जोशीका भनाइमा अब उनीलाई हवाई मार्ग वा अन्य माध्यमबाट ल्याउने विषय जिल्ला प्रशासनको जिम्मामा रहनेछ। ‘‘सुरक्षाको संवेदनशीलता ध्यानमा राखेर कहिले र कसरी ल्याउने भन्ने निर्णय जिल्ला स्तरमै हुनेछ,’’ उनले स्पष्ट पारे। विभागको निर्णयसँगै रुपन्देही कारागार प्रशासनले आवश्यक तयारी सुरु गरेको छ।
चैत २५ देखि उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका लामिछानेको सरुवाबारे गृहमन्त्री रमेश लेखकले पनि हालै संसदीय समितिमा जानकारी दिएका थिए। उनले कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘सरुवा कार्य भइरहेको’ भन्दै रास्वपाका सांसदहरूलाई जवाफ दिएका थिए।
























