प्रहार समाचार । कुवेत, ३० साउन २०८२ शुक्रवार । कुवेतमा अति प्रज्वलनशील पदार्थ ‘मेथानोल’ मिस्रित मदिरा सेवनका कारण ठूलो संख्यामा आप्रवासी श्रमिकको मृत्यु भएको छ । गत सातादेखि हालसम्म विभिन्न स्थानमा २३ जना आप्रवासीले ज्यान गुमाएका छन् । मृतकमध्ये १६ जना नेपाली रहेको पुष्टि भएको छ । सोही घटनामा परि १ सय ६० भन्दा बढी जना अस्पतालको सघन उपचार कक्षमा भर्ना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ।

न महासंघले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मध्यपूर्वको श्रम गन्तव्यका रूपमा परिचित कुवेतमा मदिरा तथा लागुऔषध उत्पादन, ओसारपसार र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्धित छ । तर, प्रतिबन्धका बाबजुद नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिक यस प्रकारको अवैधानिक गतिविधिमा संलग्न पाइने गरेको महासंघको भनाइ छ । महासंघले कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई यस्ता पदार्थको सेवन वा कारोबार नगर्न चेतावनी दिंदै स्थानीय कानुनको पालना गर्न आग्रह गरेको छ ।

यसैबीच, कुवेतस्थित नेपाली राजदूतावासले घटनापछि तुरुन्तै राजदूतसहितको टोलीले विभिन्न अस्पताल पुगेर उपचाररत नेपाली श्रमिकको अवस्था बुझेको जनाएको छ । दूतावासका अनुसार करिब ३५ जना नेपाली अस्पतालमा भर्ना छन् । केहीको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य अवस्थामा उपचाररत छन् ।

दूतावासले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उपचाररतहरूको उचित उपचारका लागि अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । साथै, स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण पेय पदार्थको सेवनबाट टाढा रहन विशेष अनुरोध गर्दै आवश्यक परेमा दूतावासको WhatsApp नम्बर +९६५६१००८९५६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
























