• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ३० साउन २०८२ शुक्रवार । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ निवासी इश्वरी प्रसाद पाण्डे निरन्तर प्रयास, धैर्य र अटल लक्ष्यसाधनको प्रेरणादायी उदाहरण बनेका छन्। “सफलता एकैपटक हात लाग्दैन, तर लगातार प्रयास गर्नेले अवश्य प्राप्त गर्छ” भन्ने विश्वासका साथ अघि बढेका पाण्डेले आफ्नो सरकारी सेवाको यात्रा प्राथमिक तहबाट सुरु गरी सातौँ सफलता हासिल गरेका छन्।

२०६४ सालदेखि २०७९ सालसम्म बोर्डिङ तथा क्याम्पसमा शिक्षण अनुभव सँगाल्दै आएका पाण्डे २०७८ मा माध्यमिक तहको अध्यापन अनुमति पत्र परीक्षामा उत्तीर्ण भए। त्यसपछिका वर्षहरूमा उनले लगातार उपलब्धि जोड्दै २०७९ मा गुल्मी जिल्लामा प्राथमिक तृतीय श्रेणी स्थायी शिक्षक, २०८० मा झापा जिल्लामा माध्यमिक तृतीय श्रेणी स्थायी शिक्षकका रूपमा सिफारिस भए। सोही वर्ष गण्डकी प्रदेशको शिक्षा अधिकृत लिखित परीक्षामा सफल भए पनि अन्तर्वार्ता नदिएका उनले २०८१ बैशाखमा शिक्षा प्रशासन निरीक्षण अन्तर्गत शिक्षा अधिकृत पदमा सिफारिस पाउँदै लमजुङको बेसीशहर नगरपालिकामा शिक्षा शाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाले।

भर्खरै नेपाल शिक्षा प्रशासन निरीक्षण सेवामा चौथो स्थानमा सिफारिस भइसकेका पाण्डेको सात चरणमा हासिल गरिएको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, तयारीमा जुटेका हजारौं युवाका लागि मार्गदर्शन र प्रेरणाको स्रोत पनि बनेको छ। उनका अनुभवले देखाएको छ—अवसर पर्खने होइन, खोज्दै पुग्ने हो, तब मात्र संघर्षलाई सफलता र गौरवमा रूपान्तरण गर्न सकिन्छ।
























