प्रहार समाचार । काठमाडौं, ३० साउन २०८२ शुक्रवार । भूमि समस्या समाधान आयोगले आज दुईवटा महत्त्वपूर्ण सूचनासहित अन्तिम ३५ दिने समयसीमा तोकेको छ। पहिलो, विगतका आयोग, समिति र कार्यदलका बाँकी कामका लागि निवेदन बुझाउन आग्रह गरिएको छ।

यसमा २०७७ साल बैशाख १ भन्दा अघि वितरण भएका जग्गासम्बन्धी स्वामित्व, दर्ता, सेस्ता र नक्सा प्रमाणिकरणका समस्या परेका लाभग्राही समेटिएका छन्। आवश्यक कागजातसहित आयोगको ढाँचामा तयार निवेदन सम्बन्धित जिल्ला समितिमा बुझाउनुपर्नेछ। समय सीमा २०८२ साउन ३० देखि ३५ दिनका लागि मात्र हो।
दोस्रो सूचना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि हो। कार्य सहमतिपत्रअनुसार सम्झौता भइसकेका स्थानीय तहका लाभग्राहीले जग्गा पाउन आयोगले तोकेको फाराम भरी बुझाउनुपर्नेछ। निवेदन वडास्तरमा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत दिन सकिनेछ। आयोगले यसलाई अन्तिम अवसर भन्दै तोकिएको समयभित्र निवेदन पेस गर्न सबैलाई आग्रह गरेको छ।
























