प्रहार समाचार । तनहुँ, ३० साउन २०८२ शुक्रवार । तनहुँमा व्यास नगरपालिका–१३ बेलबासका २७ वर्षीय कमलेश चन्द ठकुरी रहस्यमय रूपमा बेपत्ता भएको घटनामा संलग्न ठानिएका चार जना वयस्कलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिहीबार जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासमा सम्पन्न थुनछेक बहसपछि ऋषिङ गाउँपालिका–१ झापुटारका सागर थापा, सविन भनिने सगुन गर्जा मगर, जिसन भनिने छविलाल आले र काले भनिने विनोद आलेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको हो।
उक्त घटनामा संलग्न रहेका दुई नाबालक — परिवर्तित नाम ०८२/०८३ दमौली–४ र परिवर्तित नाम ०८२/०८३ दमौली–३ — लाई भने अदालतले सुधारगृह पठाउने आदेश दिएको छ। कमलेशका पिता दिलबहादुर चन्दले छोरालाई योजनाबद्ध तरिकाले बेपत्ता बनाएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत व्यक्ति बेपत्ता पार्ने मुद्दा अदालतमा दर्ता गरिएको हो।

साउन ७ गते राति बेलबासबाट झापुटारतर्फ गएका कमलेश त्यस रातिदेखि नै सम्पर्कविहीन भएका हुन्। लामो समयसम्मको खोजी प्रयासपछि समेत उनको अवस्थाबारे कुनै निश्चित तथ्य फेला नपरेको र घटनाले स्थानीय समुदायमा व्यापक चासो र चिन्ता पैदा गरेको छ भने परिवारजन चिन्तामा डुबेका छन्। स्थानियले प्रहरी समक्ष कि लास चाहियो कि श्वास चाहियो भनेर माग गरिरहेका छन्।
























