प्रहार समाचार । तनहुँ, २९ साउन २०८१ बिहीवार । तनहुँको बन्दीपुर गाउँपालिका–४, ठूल्ढुङ्गामा आज भएको बस र विद्युतीय माइक्रोबस दुर्घटनामा २१ जना घाइते भएका छन्। पृथ्वीराजमार्गमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बसमा सवार ११ र माइक्रोमा सवार १० जना यात्रु घाइते भएका हुन्।

घाइतेमध्ये तनहुँ व्यास–१० की २९ वर्षीया आशा दरै र उनकी २० महिनाकी छोरी साइन दरै, लमजुङ दोर्दी नगरपालिका–२ की ३४ वर्षीया गीता थापा कुँवर र उनकी १८ वर्षीया छोरी अंशु कुँवर, नवलपरासी सुनौल नगरपालिका–६ का २६ वर्षीय विशाल लामिछाने, तनहुँ व्यास–१० का २७ वर्षीय सोमबहादुर परियार र चितवन भरतपुर महानगर–११ का ७४ वर्षीय पर्शुराम भट्टराई रहेका छन्। माइक्रो चालकको नाम, थर र ठेगाना भने खुलाइएको छैन।
दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार केही घाइतेको अवस्था सामान्य भए पनि केहीको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
























