प्रहार समाचार । दमौली, २९ साउन २०८२ बिहीवार । शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २५ वर्षसम्म सेवा दिँदै २० हजारभन्दा बढी शल्यक्रिया गरेर हजारौँ नेपालीको मुटु र जिबन बचाउने वरिष्ठ हृदय शल्य चिकित्सक डा. रामेश कोइराला विदेशिएका छन्।

उनको यो निर्णय केवल व्यक्तिगत रोजाइ नभई देशको स्वास्थ्य प्रणाली र प्रतिभाप्रति राज्यको उदासीनताको कठोर प्रतिबिम्ब भएको चिकित्सक र आम नागरिकले टिप्पणी गरेका छन्।
“रिक्सा चलाएरै पनि घर चलाउन सक्छु” भन्ने वाक्यसँग डा. कोइरालाले व्यक्त गरेको पीडा, योग्य र अनुभवी चिकित्सकलाई टिकाउन असफल राज्यको साक्षी बनेको छ। कोइरालाले जीवनको सर्वाधिक सक्रिय समय मुटु रोगीको उपचारमा बिताए, तर संस्थागत राजनीति र असहयोगले अन्ततः उनलाई देश छाड्न बाध्य बनायो।
विश्वस्त स्रोतका अनुसार उनले गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशक बन्ने इच्छा व्यक्त गरेका थिए। तर तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवाको असहमतिको कारण नियुक्ति रोकिने अवस्था सिर्जना भयो। यस घटनाले योग्य र अनुभवी चिकित्सकलाई नियुक्ति दिनु सट्टा राजनीतिक प्रभाव र गुटबन्दी हाबी भएको स्पष्ट देखाएको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयले भने यस विषयमा औपचारिक टिप्पणी गरेको छैन। तर चिकित्सक सङ्घका पदाधिकारीले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “आज डा. कोइराला जस्ता मूर्धन्य विशेषज्ञ गुमायौं, भोलि अरु पनि गुमाउँछौं। स्वास्थ्य प्रणालीलाई बचाउनै हो भने योग्य जनशक्ति टिकाउने वातावरण तुरुन्त बनाउनुपर्छ।”
डा. कोइरालाको विदेशिने निर्णयले मुटु रोग उपचारमा दीर्घकालीन असर पर्ने चेतावनी दिँदै विज्ञहरूले स्वास्थ्य मन्त्रालयलाई तत्काल सुधारका कदम चाल्न आग्रह गरेका छन्। नागरिकबीच सामाजिक सञ्जालमा समेत ‘देशले आफ्ना हिरा जोगाउन सकेन’ भन्ने निराशा र आक्रोश व्यापक रूपमा देखिएको छ।
























