प्रहार समाचार । तनहुँ, २९ साउन २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिका–१०, दुम्सीचौरमा निर्माणाधीन नारेश्वर ताल र ड्यामको काम अन्तिम चरणमा पुगेको छ। सिँचाइ डिभिजन कार्यालय तनहुँमार्फत वर्षौंदेखि रोकिएको ड्याम निर्माण कार्य यस वर्ष पूर्णता पाउन लागेपछि अब तालमा माटो फाल्ने र पानी भर्ने तयारी भइरहेको छ।

करिब २४–२८ रोपनी क्षेत्रफलमा फैलिएको यस बहुउद्देश्यीय ताललाई व्यास नगरपालिकाले गौरवको योजना घोषित गरेको छ। नगर प्रमुख बैकुण्ठ न्यौपानेका अनुसार तालमा जम्मा भएको माटो सफा गर्ने, पानी संकलन गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माणको काम एकसाथ अघि बढाइनेछ। तालसँगै यहाँबाट पानी तानेर राख्ने सिँचाइ ट्याङ्की पनि निर्माण गरिएको छ, जसबाट आसपासका कृषकलाई आवश्यक पानी वितरण गरिनेछ। यसले कृषि उत्पादनमा वृद्धि गर्ने, स्थानीय पर्यटनलाई आकर्षित गर्ने र वातावरणीय सन्तुलनमा योगदान पुर्याउने नगरपालिकाको विश्वास छ।

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको साझेदारीमा करिब ४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिने अपेक्षा गरिएको छ। नगरपालिकाले यस परियोजनामार्फत कृषि, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा समान योगदान पुर्याउने लक्ष्य लिएको छ।

























