प्रहार समाचार । काठमाडौँ, २८ साउन २०८२ बुधवार । काठमाडौं जिल्ला अदालतमा गुण्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ। बुधबारदेखि सुरु भएको बयान प्रक्रिया साउन १६ गते चक्रपथस्थित होटल साम्बालामा गुरुङको जन्मदिन पार्टीका क्रममा पक्राउ परेका घटनासँग सम्बन्धित हो। सो दिन प्रहरीले ४७ जनालाई नियन्त्रणमा लिए पनि छानबिनपछि १९ जनामाथि मात्र मुद्दा दायर गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ र ११८ बमोजिम अभियोगपत्र दायर गरेको छ। मुद्दामा महाराजगञ्जका गुरुङसहित यामु पौडेल, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, रोजेश खड्का, राहुल खड्का, सन्दिप केसी, सौरभ सुनार, डिल्लीराज कँडेल, रितिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार र सुजल शाहीको नाम समावेश छ।
अनुसन्धानका क्रममा गणेश बहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही सजाय भोगिसकेको खुलेको छ। हाल उनीहरू प्रहरी निगरानीमा छन् भने अदालतले मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
























