प्रहार समाचार । काठमाडौं, २८ साउन २०८२ बुधवार । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। चाँगुनारायण नगरपालिका–स्थित १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले दुवैजनालाई नियन्त्रणमा लिँदा मोबाइल फोनसहित २४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो। आयोगका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार उक्त रकम राउतले बुझेका र यो कार्य आचार्यको योजनाअनुसार भएको प्रमाणित भएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार कसुर कायम गर्दै दुवै प्रतिवादीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। साथै, कैद सजाय र बिगो बराबर जरिवानाको मागसहित आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
























