प्रहार समाचार । चितवन , २८ साउन २०८२ बुधवार । चितवनको सौराहामा अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीका लागि विशेष वनभोज कार्यक्रम आयोजना गरिएको छ। बागमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा भएको कार्यक्रममा सरकारी र निजी मिलाएर ६० वटा हात्ती सहभागी भए।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको आयोजनामा भएको वनभोजमा हात्तीलाई ऊनी मनपर्ने विभिन्न परिकार खुवाइयो। कार्यक्रममा सहभागी हात्तीलाई विशेष रूपमा तयारी गरिएको घाँस, फलफूल र अन्य पौष्टिक आहार दिइएको आयोजकले जानकारी दिएका छन्।
हात्ती संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वको सन्देशसहितको यो कार्यक्रम १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस २०२५ लाई समर्पित गरिएको हो। सौराहाका पर्यटन व्यवसायी, स्थानीयवासी र विदेशी पर्यटकले हात्तीको वनभोजको रमाइलो दृश्य अवलोकन गरेका थिए।
























