प्रहार समाचार । काठमाडौँ, २८ साउन २०८२ बुधवार । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीचको झडपपछि स्थगित भएको छ।

अधिवेशन सुरु भएको केही समयमा नै लिङदेनकै सामुन्ने हातहालाहाल भएपछि अध्यक्ष राजेन्द्र लिङदेनले तत्काल कार्यक्रम रोक्ने घोषणा गरे। उनले अशान्त वातावरणमा अधिवेशन अघि बढाउन नसकिने बताउँदै परिस्थिति सामान्य भएपछि मात्र अधिवेशन गर्ने स्पष्ट पारे।
“पार्टीमा अधिवेशन प्रारम्भ हुँदा डिस्टर्ब गर्ने र अधिवेशन गर्न नदिने प्रयास भयो भने हामी टुलुटुलु हेरेर बस्दैनौं,” उनले चेतावनी दिए, “तपाईंहरूका केटा कसैका हतियार होइनन्। गुण्डागर्दी र बाहुबलबाट टुंगो लाग्दैन।”

लिङदेनले विवाद र असहमति छलफल वा मतदानबाट समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टीको भविष्यसँग जोडिएको विषयमा अनुशासन तोड्ने प्रयास सह्य नहुने चेतावनी पनि दिए।















