प्रहार समाचार । काठमाडौँ, २८ साउन २०८२ बुधवार । नेपालमा मनसुनको न्यून चापीय रेखा तराई आसपास सक्रिय रहँदा देशका धेरै स्थानमा वर्षा भइरहेको छ। गएराति कोशी प्रदेशका झापा, उदयपुरसहितका जिल्लामा ठूलो पानी परेको छ भने बाँके, डोटी, इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा मध्यम वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो वर्षा भएका स्थानमा नदी तथा खोलाको जलसतह बढेको र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

हाल कोशी, मधेश, बागमतीका केही भागमा मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेशका एक–दुई स्थानमा अहिले पनि ठूलो पानी पर्न जारी छ। आज दिउँसो देशका धेरै भागमा वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र केही क्षेत्रमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा मध्यमदेखि ठूलो वर्षा पर्न सक्ने देखिएको छ। साथै, सुदूरपश्चिमका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकोले नदी किनार र भूक्षय सम्भावित क्षेत्रका वासिन्दालाई सतर्क रहन चेतावनी दिइएको छ।
























