प्रहार समाचार । काठमाडौं, २७ साउन २०८१ मङ्गलवार । काठपाडौँको पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आज अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा “यूथ फर पिपल, प्लानेट – मानसिक स्वास्थ्य र जलवायु न्याय” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको मानसिक स्वास्थ्यको अवस्था, त्यसलाई सन्तुलनमा राख्ने उपाय तथा जलवायु न्यायसँगको अन्तरसम्बन्धबारे समूह छलफल गरिएको थियो।

कार्यक्रममा युवाहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउन जीवनशैली, सामाजिक सञ्जालको प्रभाव, जलवायु परिवर्तनका असर र सामुदायिक संलग्नताको महत्वबारे सहभागीहरूले विचार आदान–प्रदान गरे। छलफल उपलब्धिमूलक र व्यवहारिक रहेको स्ववियु सभापति भूपी ऐरले बताइन्। ऐर युवा नीति निर्माण र संरचना तय गर्नुअघि युवाको वास्तविक मानसिक स्वास्थ्यको अवस्थाबारे स्पष्ट बुझाइ हुनु अपरिहार्य रहेकोमा जोड दिन्छिन् ।


सभापति ऐरले युवाको ‘ब्रेन ड्रेन’ वा विदेश पलायनजस्ता विषयमा मात्र केन्द्रित हुनु अघि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताइन्। “मानसिक रूपमा सक्षम र सन्तुलित युवाविना जलवायु न्याय वा दिगो सामाजिक परिवर्तन सम्भव हुँदैन,” उनले जोड दिइन्। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य र जलवायु न्यायका चुनौतीहरू सामना गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।


























