प्रहार समाचार । सुनसरी , २६ साउन २०८२ सोमवार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। बिहान करिब ७:१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी २ पुरुष र १ महिलाको मृत्यु भएको छ भने घाइतेमध्ये ४ को अवस्था गम्भीर छ। घाइतेहरूलाई ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, जिल्ला अस्पताल इनरुवा र विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली उद्धारमा खटिएको थियो। बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विङ्गर चालक उपचाररत छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























