प्रहार समाचार । तनहुँ, २६ साउन २०८२ सोमवार । तनहुँको शुक्लागाडी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डितले वनको संरक्षण र व्यवस्थापनसँगै आयआर्जनमा जोड दिनुपर्ने बताएका छन्।

आज पञ्चासे वेलाैंते सामुदायिक वन उपभोक्ता समूह, शुक्लागण्डकी–७ मा आयोजित सामुदायिक वन दिवसको अवसरमा उनले वन संसाधनको दिगो उपयोग र आर्थिक लाभ दुवैलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले वनको संरक्षण केवल हरियालीका लागि मात्र नभई स्थानीय आयआर्जनको स्रोतका रूपमा विकास गर्नुपर्ने समय आएको बताए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष खड्गसिं थापा, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ तनहुँका अध्यक्ष दिप वहादुर श्रेष्ठ लगायतले वनको महत्व, पैदावारको सदुपयोग, वन्यजन्तुको संरक्षण र सामुदायिक वनलाई गतिशील बनाउन आवश्यक विषयमा धारणा राखे ।
“समयमै कार्ययोजना नवीकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं” भन्ने नाराका साथ आयोजित कार्यक्रममा चिउरी, कोइरालो लगायतका बिरुवाहरू रोपण गरिएको थियो। साथै सोही अवसरमा नगर प्रमुख पण्डितले डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा समूहले निर्माण सम्पन्न गरेको पोखरीको उद्घाटन गरे। कार्यक्रममा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, राष्ट्रिय अनुसन्धान उप निर्देशक मनोज ढकाल, वडा नं ६ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, निजी वन सञ्जाल तनहुँका अध्यक्ष मुक्तिनाथ तिम्सिना लगायतको सहभागिता रहेको थियो।

सामुदायिक वन दिवसकै अवसरमा डिभिजन वन कार्यालय तनहुँको सभाहलमा आर्थिक वर्ष ०८१/०८२ का उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। पुरस्कार प्राप्त समूहमा प्रथम मधुवन सा.व.उ.स. (देवघाट–५) लाई १० हजार , द्वितीय थानीमाई सा.व.उ.स. (भानु–७) लाई ८ हजार , तृतीय छपेली सा.व.उ.स. (वन्दिपुर–१) लाई ५ हजार र सान्त्वना साँगुपखेरा सा.व.उ.स. (म्याग्दे–५) लाई ३ हजार नगद प्रदान गरिएको थियो । पञ्चासे वेलाैंते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण स वन अधिकृत नर बहादुर क्षेत्रीले गरेका थिए।
























