हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

परदेशको पीडा र तीजको उमङ्ग बोकेको ‘कोरियाको लाहुरे’ गीत सार्वजनिक

प्रहार समाचार । तनहुँ, २५ साउन २०८२ आइतवार । हरितालिका तीजको रौनक चुलिँदै गर्दा गायक, गीतकार तथा संगीतकार आर.सी. विश्वकर्माले आफ्नो नयाँ सिर्जना ‘कोरियाको लाहुरे’ सार्वजनिक गर्दै श्रोतामाझ भावनाको लहर ल्याएका छन्। सर्जन राना यूट्यूब च्यानलमार्फत रिलिज भएको यो गीतले तीजको उत्साहसँगै प्रवासको पीडा, मायालु सम्बन्धको तानाबाना र परिवारको सम्झनालाई मन छुने शैलीमा प्रस्तुत गरेको छ।

गीतमा कोरिया, जापान, युकेलगायत मुलुकमा रोजगारीको शृङ्खलामा बाँधिएका हजारौँ नेपाली युवाहरूको संघर्ष, परदेशी जिन्दगीको यथार्थ र घर–परिवारप्रतिको अपार स्नेहलाई कलात्मक ढंगले चित्रण गरिएको छ।

गीतहरुमा नेपालकै चर्चित चकलेटि मेडल लोमश शर्मा, बिनु कार्की, सुदिप पौडेल र आरती सुनारको जीवन्त अभिनय र भावपूर्ण नृत्यले दृश्यलाई कथासँग गाँस्दै दर्शकलाई गीतभित्रको भावनामा डुबाउँछ।

लय, शब्द र स्वर आर.सी. विश्वकर्माकै रहेको यस गीतमा दिपिका वएम्बु र दीपक गैह्रेले स्वरमा साथ दिएका छन्। ‘मगर्नी मोरी’ र ‘मेरो बाबा’ जस्ता चर्चित गीतका स्रष्टा विश्वकर्माले यसपटक पनि आफ्नै मौलिक शैलीमा श्रोता–दर्शकको मन जित्ने आत्मविश्वास व्यक्त गरेका छन्।

निर्देशक सर्जन रानाले भिडियोमार्फत प्रवासी नेपालीको जीवनयात्रा, वियोगको वेदना र मायाको गहिराइलाई कथानकसहित पेश गरेका छन्। सार्वजनिक भएको केही घण्टामै गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ, विशेषगरी विदेशमा रहेका नेपालीहरूले यसलाई आफ्नो जीवनसँग मेल खाने यथार्थ गीतका रूपमा लिएका छन्।

तीजको नाचगान मात्र होइन, परदेशी मनको वेदना र परिवारप्रतिको अमिट मायालाई एकैसाथ बोकेको ‘कोरियाको लाहुउरे’ यस वर्षको तीजको चर्चित सिर्जनामा गनिन सक्ने संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button