प्रहार समाचार । काठमाडौं, २६ साउन २०८२ सोमवार । नेपालमा मनसुनको न्यून चापीय रेखा सक्रिय रहँदा देशका विभिन्न स्थानमा वर्षाको प्रभाव बढेको छ। गत रात सर्लाही, बारा, कास्की र सिन्धुपाल्चोकसहितका जिल्लामा ठूलो पानी परेको छ । आज पनि धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू–भागका धेरै स्थान र मधेशमा वर्षा विस्तार हुने अनुमान छ। विशेषगरी कोशी, बागमती, गण्डकीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा भारी वर्षा पर्न सक्छ ।
राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा, साथै कोशी, लुम्बिनी र सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षा हुने स्थानमा बाढी–पहिरोको जोखिम बढ्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र स्वास्थ्यमा समेत असर पर्न सक्ने चेतावनी दिंदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
























