हेडलाईनविचारप्रदेश

शिक्षा क्षेत्रको चुनौती : दण्ड, जिम्मेवारी र सम्मानको सन्तुलन

‘आजको शिक्षाप्रणालीमा शारीरिक दण्ड नदिनु पर्ने मान्यता सैद्धान्तिक रूपमा स्थापित हुँदै गएको छ। तर यस्तो मान्यता व्यवहारमा कार्यान्वयन गर्न शिक्षकसँग आवश्यक सीप, दण्डको विकल्प, विद्यालय र घर-परिवारमा सकारात्मक वातावरण, र बालबालिकाप्रति सबै पक्षको समुचित व्यवहारको खाँचो पर्छ।’ भन्दै लामो समयदेखि शिक्षा र आत्यात्मिक क्षेत्रमा सक्रिय नन्दन श्रेष्ठ लेख्छन् :

तनहुँको व्यास नगरपालिका वडा नं-३, शान्तिनगरमा रहेको गोरखकाली बोर्डिङ स्कुलमा बिहिवार एकाएक अशान्ति मच्चियो । कारण थियो – विद्यार्थीहरुलाई शिक्षकले निर्घात कुटपिट गर्नु । त्यस पछि आक्रोशित अभिभावकले विद्यालय प्राङ्गणमै विद्यार्थीहरूकै सामु उक्त शिक्षकमाथि आक्रमण गर्नु । यो दुरभाग्य पूर्ण घटनाले शिक्षा क्षेत्रका थुप्रै प्रश्नहरू उब्जुनुका साथै धेरै कौतुहलता तथा जिज्ञासा सतहमा ल्याको छ। तस्बिर : एआई

आजको शिक्षाप्रणालीमा शारीरिक दण्ड नदिनु पर्ने मान्यता सैद्धान्तिक रूपमा स्थापित हुँदै गएको छ। तर यस्तो मान्यता व्यवहारमा कार्यान्वयन गर्न शिक्षकसँग आवश्यक सीप, दण्डको विकल्प, विद्यालय र घर-परिवारमा सकारात्मक वातावरण, र बालबालिकाप्रति सबै पक्षको समुचित व्यवहारको खाँचो पर्छ। यस्ता पक्षहरूबारे गम्भीर बहस र संवाद भने हुने गरेको देखिँदैन।

बालबालिकाको शिक्षा र व्यक्तित्व विकासमा विद्यालय एउटा पाटो हो भने अभिभावकको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ। आजको यथार्थ यस्तो देखिन्छ कि अभिभावकहरूले शुल्क तिरेको आधारमा आफ्ना कर्तव्यबाट विमुख हुँदै सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकमाथि थोपर्ने प्रवृत्ति बढ्दो छ। धेरैजसो घरमा बालबालिकाभन्दा आफैं अभिभावक नै अनुशासनहीन छन्। उनीहरूलाई कसले प्रश्न गर्ने?

शिक्षकको भूमिकामा अनेकौं चुनौती छन् — प्रशासनको दवाव, अभिभावकलाई अपेक्षित नतिजा दिनुपर्ने दबाब, विविध पृष्ठभूमिका विद्यार्थीको व्यवस्थापन, र निजी विद्यालयमा काम गुम्ने डरका बीच परिणाममुखी शिक्षणको चपेटा। यस्तो जटिल परिस्थितिमा शिक्षकले कसरी सन्तुलन कायम गर्ने? यो आफैंमा गम्भीर प्रश्न हो।

दण्ड दिनु पर्छ कि पर्दैन? यसको उत्तर ब्ल्याक एन्ड ह्वाइट (सिधा हो या होइन) ढंगमा दिन सकिन्न। शिक्षाशास्त्रमा एक समयमा उपयुक्त मानिएका विधिहरू समयसँगै अप्रासंगिक सावित भएका छन्। दण्ड भनेको विद्यार्थीलाई आफ्नो गल्ती बोध गराउने एउटा उपाय हो। यसलाई विवेकपूर्ण रूपमा, मनोवैज्ञानिक सूझबुझका साथ प्रयोग गर्नुपर्छ। शारीरिक यातना निन्दनीय छ, अझ घाइते बनाउनेजस्तो क्रूर व्यवहार त पूर्णरूपमा आपत्तिजनक हो।

यद्यपि, एउटा विद्यार्थी सिकाइका लागि तयार गराउन घरको ८० प्रतिशत भूमिका हुन्छ भन्ने तथ्यलाई बेवास्ता गरेर सम्पूर्ण दोष विद्यालयलाई थोपार्नु गम्भीर भूल हो। बालबालिकामा मनोवैज्ञानिक असर पर्नु हुँदैन भन्ने भनाइ सहि हो, तर यदि उनीहरूलाई कुनै प्रकारको उत्तरदायित्वबोध गराइएन भने सिकाइ कमजोर हुनसक्छ। सन्तुलित, परिस्थिति अनुसारको गैर-शारीरिक दण्ड कहिलेकाहीं उपलब्धिमूलक पनि हुनसक्छ। तस्बिर : एआई

अन्त्यमा, अभिभावकद्वारा विद्यालय प्राङ्गणमै शिक्षकमाथिको आक्रमण अत्यन्तै असभ्य र आपत्तिजनक व्यवहार हो। यस्ता घटना आजकल शिक्षालयमा बारम्बार देखिन थालेका छन्, जसले शिक्षकमा निराशा र हिनभाव पैदा गर्न सक्छ। यदि शिक्षकले सम्मान पाएनन् भने, उनीहरूको मनोबल कमजोर हुन्छ र सिकाइको वातावरणमै खलल पुग्छ।

विद्यार्थीलाई अनुशासित र उत्तरदायी बनाउने चाहना शिक्षक, अभिभावक र समुदाय सबैको हो। त्यसैले सबै पक्षले आ-आफ्नो भूमिका गम्भीरताका साथ निर्वाह गरौं। शिक्षक विवेकशील बनौं, अभिभावक उत्तरदायी, र समाज शिक्षामैत्री।

(• तनहुँको दमौली निवासी शैक्षिक र आध्यात्मिक व्यक्तित्व श्रेष्ठको यो लेख हामीले सामाजिक सञ्जाल फेसबुक पेजबाट लिएर थोरै सम्पादन गरेर प्रकाशित गरेका हौं।) सम्पादक


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button