हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यासगुफा परिसरमा महर्षि वेदव्यासको ३३ फुट अग्लो मूर्ति बन्ने

प्रहार समाचार । तनहुँ, २३ साउन २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको व्यासगुफा परिसरमा महर्षि वेदव्यासको ३१ फिट व्यास भएको ३३ फुट अग्लो वेद व्यासको मूर्ति श निर्माण गरिने भएको छ।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँले सञ्चालन गर्न लागेको यस परियोजना अन्तर्गत धार्मिक र सांस्कृतिक महत्वका १ फुट र ७ फुट अग्लो गरि दुईवटा वेदव्यासकै मूर्तिहरु पनि बन्ने भएका । यी संरचनाहरु २०८३ साल भित्रै बन्ने छन् ।

“वेदव्यासको ज्ञान, धर्म र सनातन संस्कृति संसारभर फैलाउने हाम्रो उद्देश्य हो,” प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य सत्गुरु खेमराज अधिकरीले बताए। उनका अनुसार निर्माणकार्य चरणबद्ध रूपमा अघि बढिरहेको छ। अहिले प्रारम्भिक रूपमा १ फुट, दोस्रो चरणमा ७ फुटको र तेस्रो चरणमा ३३ फुटको मूर्ति निर्माण गरिने छ ।

करिब ३ करोड रुपैयाँ लागतमा निर्माण हुने मूर्तिहरू र संरचनाहरू दाताहरूको सहयोगमा तथा प्रतिष्ठानको व्यवस्थापनमा निर्माण गरिने भएको हो ।

महासन्त प्रभु सुकदेव जय श्री हरिका अनुसार, यी संरचनाहरूले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा वैदिक धर्म र संस्कृति पुनर्जीवित गर्ने कार्यमा ऐतिहासिक योगदान पुर्‍याउने छन्। “यो निर्माणले हामीलाई हाम्रो मौलिक पहिचान र सनातन ज्ञानमूल्यमा फर्काउनेछ,” उनले भने।

सेती र मादीको संगमस्थल नजिक रहेको व्यासगुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको यो परियोजनाले तनहुँ र आसपासका क्षेत्रलाई आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको प्रतिष्ठानले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button