प्रहार समाचार । तनहुँ, २२ साउन २०८२ बिहिवार । तनहुँको भानु नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो नगर कार्यपालिकाको बैठक ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको ‘ने मुनि पार्क’मा सम्पन्न भएको छ।

‘ने मुनि पार्क’ मा आयोजित यस बैठकमा नगर प्रमुख आनन्दराज त्रिपाठी सहित कार्यपालिका सदस्यहरू, स्थानीय इतिहासका जानकारहरू, र सरोकारवालाबीच ‘ने मुनि’ को ऐतिहासिकता, धार्मिक महत्व र संरक्षणको आवश्यकताबारे गहन छलफल गरिएको थियो।
ऐतिहासिक अभिलेखहरू, धार्मिक ग्रन्थहरू तथा अध्येता–अनुसन्धानकर्ताहरूका भनाइका आधारमा ‘ने मुनि’ प्राचीन ऋषि भएको र उनले तपस्या गरेको स्थान हालको दमौलीबाट उत्तरपूर्व मर्स्याङ्दी नदी नजिकको क्षेत्रमा रहेको बताइएको छ।

इतिहासकार ज्ञानमणि नेपालका अनुसार हिमवत खण्ड र श्रीमद् भागवत जस्ता ग्रन्थहरूमा ने मुनिको उल्लेख गरिएको छ। उनी भन्छन्, “ने मुनिको नामबाटै ‘नेपाल’ शब्दको उद्गम भएको र तत्कालीन नेपाल राज्यको सुरुवात यही क्षेत्रबाट भएको ऐतिहासिक प्रमाणहरूमा उल्लेख छ।”
यसैगरी, अनुसन्धानकर्ता शिवराज शर्मा पौडेलका अनुसार ने मुनि तनहुँको पुर्कोट क्षेत्रमै जन्मिएर चेपे–मर्स्याङ्दी दोभानमा गई तपस्यारत भएका थिए, जुन कुरालाई उनले विभिन्न अनुसन्धानमार्फत पुष्टि गरेका छन्।

बैठकका क्रममा स्थानीय सरोकारवालाहरूसँग ने मुनि पार्कको संरक्षण, विकास तथा प्रचार–प्रसारबारे राय सुझाव लिइएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख त्रिपाठीले भने, “ने मुनि राष्ट्रका लागि गर्वको विषय हुन्, उहाँको योगदानको सम्मान गर्दै नगरपालिकाले यो स्थलको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नेछ।”

बैठकले ने मुनि पार्कलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रारम्भिक योजना पनि अघि सारेको छ।


























