प्रहार समाचार । भैरहवा, २२ साउन २०८२ बिहीवार । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। लुम्बिनी प्रदेशको भ्रमणका क्रममा कारागार पुगेका भट्टराईले लामिछानेसँग करिब आधा घण्टा कुराकानी गरेका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रविलाई थुनामुक्त गरेर स्वतन्त्र रूपमा मुद्दा लड्न पाउने अवसर दिनुपर्ने धारणा राखे।

भट्टराईले लामिछानेमाथि लागेको आरोपबारे अन्तिम निर्णय अदालतले गर्ने भए पनि उनी भाग्न सक्ने या प्रमाण नष्ट गर्ने सम्भावना नरहेको दाबी गरे। “न त उनी भाग्ने जोखिममा छन्, न त अरू अपराध दोहोर्याउने सम्भावना छ,” भट्टराईले भने, “त्यसैले अनुसन्धान र मुद्दा लडाइँ स्वतन्त्र रूपमा थुनाबाहिरै रहँदा गर्न दिनुपर्छ।” उनले लामिछानेमाथि वर्तमान अवस्थामा भइरहेको कारावास अनावश्यक र अन्यायपूर्ण रहेको बताए।

भट्टराईले कारागारमा लामिछानेलाई पत्रपत्रिका पढ्न नपाउने र साँघुरो कोठामा राखिएको अवस्थालाई समेत आपत्तिजनक भनेका छन्। उनले लामिछानेको अधिकार सुनिश्चित गर्न आवश्यक कदम चालिने जनाउँदै यसबारे सम्बन्धित निकायहरूसँग कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरे। भट्टराईको भेटपछि रास्वपाले पनि आफ्नो अध्यक्षको हक र सम्मानका लागि दबाबमूलक पहल गर्ने संकेत दिएको छ।



























