हेडलाईनसमाचारप्रदेश

शिक्षा विधेयक समयमै नआएपछि शिक्षक महासङ्घले गऱ्यो आन्दोलनको घोषणा

प्रहार समाचार । काठमाडौँ, २२ साउन २०८२ बिहिवार । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक समयमै अघि नबढेपछि आन्दोलनको तयारी थालेको छ। साउन २१ गतेसम्म ऐन जारी गर्न सरकारलाई दिएको अल्टिमेटमको अवधि सकिएपछि महासङ्घले आज राजधानीको बबरमहलमा बसेको बैठकबाट भदौ दोस्रो सातादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनको विस्तृत कार्ययोजना महासङ्घको आन्दोलन परिचालन समितिले तयार गर्नेछ भने त्यसलाई राष्ट्रिय समितिबाट पारित गरिनेछ। “आगामी भदौ पहिलो हप्तामा महासङ्घको पूर्ण बैठक बस्नेछ,” सुवेदीले भने, “त्यसअघि नै आन्दोलनको मोडालिटी स्पष्ट गरिनेछ। तर अब आन्दोलन अपरिहार्य देखिएको छ।”

उनका अनुसार महासङ्घले सरकारसँग भएका सहमति, हालसम्मको प्रगतिसहित प्रस्तावित विधेयकको अवस्था समीक्षा गरेको छ। तर अहिलेसम्मको प्रक्रिया र विधेयकको खाकाले सम्पूर्ण शिक्षक तथा कर्मचारीको हित सुनिश्चित गर्ने अवस्था देखिएको छैन।

सरकारले यसअघि असार १५ भित्रै विद्यालय शिक्षा विधेयक टुंग्याउने प्रतिवद्धता जनाएको थियो। तर त्यो म्याद नाघिसक्दा पनि विधेयक शिक्षा समितिमै अड्किएको अवस्था छ। यसले महासङ्घमा असन्तोष चुलिएको हो।

महासङ्घले वार्ता, छलफल र सम्वादलाई पनि यथासम्भव प्राथमिकता दिने बताउँदै आए पनि अब आन्दोलनको बाटो रोज्नु पर्ने निष्कर्षमा पुगेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button