प्रहार समाचार । तनहुँ, २२ साउन २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिकाको कार्यपालिकाको बैठकले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा तथा प्रशासनिक सुधारसम्बन्धी गरी ११ महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज सम्पन्न भएको उक्त बैठकले विशेषगरी विद्यार्थीका लागि छात्रवृत्ति कार्यविधि, विपन्न बिरामीका लागि आर्थिक सहायता, विभिन्न संशोधित कार्यविधिहरू पारित गर्नुका साथै नीति तथा बजेट कार्यक्रम सूचना प्रविधि शाखामार्फत सार्वजनिक गर्ने निर्णय लिइएको छ।
बैठकले नगरको समग्र पूर्वाधार विकासलाई अघि बढाउने योजनाअन्तर्गत व्यास–२ मा वडा कार्यालय भवनका लागि जग्गा प्राप्त गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। यसका साथै गण्डकी प्रदेश सरकार तथा संघीय सरकारबाट प्राप्त रकमलाई ३० प्रतिशत बजेट आधार मानी ७० प्रतिशत स्रोत सुनिश्चित गरी व्यास–७ सहिद कालिका मार्ग र व्यास–११ खड्ककाली मार्ग स्तरोन्नति गर्न टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। यस्तै, स्वास्थ्य चौकी भवन निर्माणका लागि व्यास–८, ११ र १४ मा दोब्बरभन्दा बढी नहुने गरी स्रोत सुनिश्चितता गर्दै प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ।

बैठकले लघु उद्यम विकास कार्यक्रम (MEDPA) सन् २०८२/८३ का लागि वडा नम्बर ३ मा सञ्चालन गर्ने, मातृ मृत्यु निगरानी तथा प्रतिकार्यका लागि उप–प्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने, कर तथा राजश्व सम्बन्धी विज्ञ प्रतिवेदन स्वीकृत गर्ने निर्णयहरू पनि लिएको छ। यस्तै, विगतदेखि सरसफाई व्यवस्थापनका लागि माग गरिएको जग्गा बारे निर्णय नआएको भन्दै संघीय मन्त्रालयमा तत्काल प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको छ। बैठकका निर्णयहरूबारे प्रवक्ता एवं वडा नं. ९ का अध्यक्ष सुरेन थापाले जानकारी गराएका हुन्।


























