प्रहार समाचार । काठमाडौँ, २१ साउन २०८२ बुधवार । अहिले देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न प्रदेशमा मौसम बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहेकाले यसको प्रभाव देशभर देखिएको हो।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा व्यापक बदली रहनेछ भने अन्यत्र सामान्य बदली रहनेछ। केही स्थानमा मध्यम वर्षा भइरहेको जनाइएको छ। कोशी प्रदेशको पहाडी क्षेत्र र अन्य प्रदेशका केही स्थानमा आज पनि मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।


























