प्रहार समाचार । काठमाडौँ, २१ साउन २०८२ बुधवार । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अब अनिवार्य बन्ने भएको छ। आगामी असोज १ गतेदेखि देशभरका सातवटै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू हुने सरकारको निर्णय छ। संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उक्त बैठकमा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्री र सचिवहरू सहभागी थिए। बैठकले इम्बोस्ड नम्बर जडानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभर ट्राफिक प्रहरी परिचालन गर्ने निर्णयसमेत गरेको छ। अब सबै सवारीधनीहरूले अनिवार्य रूपमा आफ्नो गाडीमा इम्बोस्ड नम्बर जडान गर्नुपर्नेछ।
यातायात व्यवस्था विभागले २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरे पनि हालसम्म करिब ७५ हजार सवारीसाधनमा मात्र जडान भएको छ। लक्ष्यअनुसारको प्रगति हुन नसकेको भन्दै मन्त्रालयले कडाइका साथ नियम लागू गर्ने तयारी गरेको हो।


























