प्रहार समाचार । तनहुँ, २१ साउन २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–२ दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हात पारेको छ। विज्ञान संकायका कृष्टिना पन्थ र बिपिन श्रेष्ठले ३.९६ जिपिए ल्याउँदै राष्ट्रियस्तरमै सर्वोच्च स्थान हासिल गरेका छन्।

यस्तै, सोमन श्रेष्ठले ३.९५ जिपिए प्राप्त गरेका छन् भने ३१ जना विद्यार्थीले ३.६ जिपिएभन्दा माथिको उपलब्धि हासिल गर्दै विद्यालयको शैक्षिक छवि उजागर गरेको विद्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८२ सालको परीक्षामा सत्यवती माविबाट ५ सय १ जना सहभागी भएका थिए, जसमध्ये तीन सय अठहत्तर जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले ७५.४५ प्रतिशत उत्तीर्ण दरसँगै दुई विद्यार्थीको राष्ट्रिय कीर्तिमानी जिपिएले विद्यालयको गौरव झनै बढाएको बताए । ‘यो नतिजा आउनुको पछाडी लगनशिल विद्यार्थी, परिश्रमी शिक्षक तथा सचेत अभिभावकहरुको एकता हो ।’- प्र अ पौडेलले भने ।

हाल करिब २६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयले प्राविधिक र गुणस्तरीय शिक्षाको मोडेलका रूपमा देशैभर ख्याति कमाउँदै गएको छ। अन्य जिल्लाबाट समेत शैक्षिक अध्ययन र अवलोकन गर्न शिक्षक तथा विद्यार्थीको आगमन हुने यो विद्यालयले हाल पाएको सफलता केवल संख्यात्मक उपलब्धि मात्र होइन, प्रेरणाको उज्यालो बत्ती हो—जसले अबका पुस्तालाई अझ अग्लो सपना देख्न र त्यसका लागि कठोर मेहनत गर्न हौसला दिनेछ।
यसै बिच गत वर्षको एसईई परीक्षामा भने प्रयोगात्म परीक्षामा एकजना शिक्षकको लापरबाहिका कारण धेरै विद्यार्थीहरुले सोचे जातो नतिजा ल्याउनबाट बञ्चित हुन पुगेका थिए । जस्को आलोचना आम अभिभावकहरुले गरेका थिए ।


























