प्रहार समाचार । भारत , २० साउन २०८२ मङ्गलवार । छिमेकी मुलुक भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रस्थित खीर गंगा गदेरेमा आएको आकस्मिक लेदोसहितको बाढीले धराली गाउँको ठूलो बस्तीमा कहर निम्त्याएको छ। गँजिँएको पहिरो र बाढीको छ्यापछ्याप्तीले गाउँका घरहरु क्षतिग्रस्त हुँदा ४ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने ५० भन्दा बढी स्थानीय बेपत्ता भएका छन्।

आकस्मिक बाढी रातिको समयमा आएकाले धेरैलाई भाग्ने मौका समेत नपुगेको बताइएको छ। गाउँका केही घरहरू पुरिएको र कयौं स्थानीयलाई उद्धार गर्न खोज्दा कठिनाइ भएको जनाइएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भारतीय सेना, राज्य विपद् व्यवस्थापन बल (SDRF) र स्थानीय प्रशासनको समन्वयमा तीव्र रुपमा भइरहेको छ ।
प
घटनास्थलमा तुरुन्तै उद्धार टोली खटाइएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री र जनशक्ति पठाइएको अधिकारीहरूले जनाएका छन्। उत्तराखण्ड सरकार र राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) ले घटनाको गम्भीरता अनुसार थप राहत र पुनःस्थापनाको तयारी गरिरहेको छ। हर्षिल क्षेत्र पहिरो र बाढीको दृष्टिले अति संवेदनशील क्षेत्र मानिने भएकाले आगामी दिनहरूमा सतर्कता अपनाउन पनि स्थानीयलाई आग्रह गरिएको छ।


























