
‘नेपाली कांग्रेसमा आज देखिएको गुटबन्दी र स्वार्थप्रधान चलन पुराना पुस्तालाई विस्थापित गराउँदैछ । विचार र प्रतिबद्धताको राजनीतिमा लागेकाहरू आज पार्टीभित्र ‘धनको प्रभाव’, ‘पद किनबेच’, ‘खर्चिलो उम्मेदवारी प्रक्रिया’, ‘मासुभात र रक्सिको मेनु’ बाट निराश छन् ।’ भन्दै रेशम गुरुङ लेख्छन् :
राजनीतिक नेतृत्व विचार, निष्ठा, दूरदृष्टि र सादगीपुर्ण हुनुपर्छ । नेतृत्वले दृढ इच्छाशक्ति, स्पष्ट नीति, सुसंस्कृत राज्य संचालनको दृष्टिकोण, समावेशी र उत्तरदायी शासन विधिबाट देशको दिशा तय गर्न सक्ने सामर्थ्य राख्नुपर्छ । थर, जात, वर्ग वा सम्प्रदायको नाममा समाजमा घृणा र विद्वेष फैलाउनु सत्ता प्राप्तिको लागि गरिएको बेईमानी हो, जसले देशलाई गहिरो खाडलमा पुर्याउँछ । जातीय भेदभावको विरुद्ध आत्मबोधसहितको स्पष्ट विचार सार्वजनिक रूपमा राख्न सक्नेहरूले मात्र समावेशी नेतृत्वदायी भूमिकामा रहन सक्दछन् । निष्ठा र विचारले नै राजनीतिलाई राष्ट्रप्रति उत्तरदायी बनाउने शक्ति राख्दछ ।

कांग्रेसमा गुट र गिरोहको गहिरिँदो चक्रव्यूह :
नेपाली कांग्रेसमा आज देखिएको गुटबन्दी र स्वार्थप्रधान चलन पुराना पुस्तालाई विस्थापित गराउँदैछ । विचार र प्रतिबद्धताको राजनीतिमा लागेकाहरू आज पार्टीभित्र ‘धनको प्रभाव’, ‘पद किनबेच’, ‘खर्चिलो उम्मेदवारी प्रक्रिया’, ‘मासुभात र रक्सिको मेनु’ बाट निराश छन् । बौद्धिक वर्ग राजनीतिबाट पलायन भैरहेका छन् । पार्टीको जरा सिँच्नेहरू, आस्थावान कार्यकर्ता, विचार बोकेका नेताहरूको कदर छैन । नेतृत्व आलोचना सहन चाहँदैन, न त वैचारिक छलफलमै रुचि राख्दछ ।
त्यसैकारण युवा पुस्ताले कांग्रेसमा प्रवेश गर्न चाहँदैनन्, बरु विदेश पलायनको बाटो रोजिरहेका छन् । यति पीडामाथि पनि केही निष्ठावान तप्का पार्टीभित्र अविचलित छन् तर उनीहरूको धैर्य पनि सकिँदैछ ।
बाजपेयीको भनाइ र नेपाली सन्दर्भ :
भारतका महान नेता अटल बिहारी बाजपेयीले चिन्ताजनक अवस्था संकेत गर्दै भनेका थिए—
“पहिले अपराधीहरू हामीकहाँ आफ्नो बचाउ गर्न आउँथे, पछि चुनाव जिताउन हामीलाई सहयोग गर्न थाले। अनि उनीहरूले ठाने—यदि हामीलाई जिताउन सक्छौं भने आफैँ किन नजितौं ?”
आज नेपाली राजनीति पनि यही दिशातिर उन्मुख छ । अपराधी प्रकृतिका व्यक्तिहरू राजनीति कब्जा गर्दै छन्, नीति र आदर्शको ठाउँमा लोभ, धम्की र अवैध शक्तिको दबदबा बढ्दो छ । यो गम्भीर चिन्ताको विषय हो ।

राजनीतिक सुधारको सुरुवात :
अब प्रश्न उठ्छ—राजनीतिक सुधारको सुरुवात कहाँबाट गर्ने ? सबैभन्दा पहिले, राजनीतिक शुद्धीकरण अभियान थाल्नुपर्छ । राजनीतिक व्यक्ति र अराजनीतिक व्यक्तिको स्पष्ट पहिचान हुनुपर्छ । क्षेत्रीय प्रतिनिधिहरूको दायित्व हो—पार्टीमा लाग्ने व्यक्तिको पृष्ठभूमि जाँच गर्ने, आस्था र निष्ठाको मूल्यांकन गर्ने ।
पार्टी नेतृत्वमा पुर्याउने क्रममा चरम सतर्कता आवश्यक छ । गलत व्यक्तिलाई सत्ताको सिँढी चढाउने क्रम रोकिनु जरुरी छ, अन्यथा त्यस्ता व्यक्तिहरूले पार्टीभित्रै डस्ने छन् । यिनै डसाहारूलाई निष्काशन गर्न नसक्ने हो भने कांग्रेसको पुनर्जागरण सम्भव हुने छैन ।
१५औं महाधिवेशन : सुदृढ पुनःसंरचनाको अवसर :
नेपाली कांग्रेसको १५औं महाधिवेशन सुधारको उपयुक्त अवसर हो । यस अवसरमा पार्टीभित्र रहेका अतिक्रमणवादी तत्वहरूको पहिचान र निष्कासन अपरिहार्य छ । पार्टीभित्र आस्था, निष्ठा र नैतिक मूल्य बोकेका व्यक्तिहरूको संरक्षण र प्रवर्द्धन गर्नु नै कांग्रेसको दीर्घकालीन अस्तित्वको मेरुदण्ड हुनेछ ।
निष्कर्ष र सुझाव :
विचार र निष्ठा बोकेको नेतृत्व उत्पादन नगरेसम्म पार्टीले जनविश्वास जित्न सक्दैन । नेतृत्वको छनोटमा जिम्मेवार क्षेत्रीय प्रतिनिधिहरूको भूमिकालाई मजबुत बनाउनु आवश्यक छ ।
पैसा र पदको खेलमा पार्टीलाई समर्पण गर्ने कार्यकर्ताहरू हतोत्साहित भैरहेका छन्, उनीहरूलाई सम्बोधन नगर्दा कांग्रेस थप कमजोर हुँदै जानेछ ।
कांग्रेस नेतृत्वले आलोचना र वैचारिक बहसलाई स्वीकृति दिन नसके नयाँ पुस्ताको आकर्षण गुम्नेछ ।
नेपाली कांग्रेस विचारको पार्टी हो, र यो विचार पुनःस्थापित नगर्दा पार्टीको लोकप्रीयता र साख संकटमा पर्ने निश्चित छ । त्यसैले, सबै सचेत कांग्रेसजनहरू गम्भीरतापूर्वक यतातिर ध्यान दिऊन् — यही हो सुदृढ, विचारपूर्ण, निष्ठावान कांग्रेसको पुनर्निर्माणको बाटो।
जय नेपाल।
✍️ गुरुङ नेपाली कांग्रेस तनहुँका पूर्व कोषाध्यक्ष एवं
महाधिवेशन प्रतिनिधि हुन्।


























