प्रहार समाचार । काठमाडौं, २० साउन २०८२ मङ्गलवार । लामो खडेरीपछि तराई–मधेशमा वर्षा हुन थालेको छ। पछिल्ला तीन दिनदेखि निरन्तर वर्षा भएपछि खडेरीको मारमा परेका किसान उत्साहित भएका छन्। आइतबार र सोमबार मधेशका केही स्थानमा ठूलो पानी परेको छ। मनसुन सुरु भएको दुई महिना बितिसक्दा पनि पर्याप्त वर्षा नभएपछि सरकारले मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

वर्षासँगै सुकेका खेतमा हरियाली फर्कन थालेको छ। केही दिनअघिसम्म सुक्खाका कारण जोगिएको धानबालीमा पुनः जीवन देखिन थालेको छ भने रोप्न बाँकी रहेका ठाउँमा रोपाइँले गति लिएको छ। वर्षाले समयमै पानी पाएको भएजस्तो नतिजा नआउने भए पनि किसानले केही हदसम्म राहतको अनुभव गर्न थालेका छन्।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई भूभागमा रहेकाले वर्षा भइरहेको हो। मंगलबार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली लगायतका प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


























