प्रहार समाचार । काठमाडौँ, २० साउन २०८२ मङ्गलवार । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएर पक्राउ परेर उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिए पछि रिहा भएका मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईले ‘म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहने बताएका छन् ।

कारागारमुक्त भएसँगै उनले देश तथा विदेशमा रहेका सबै नेपालीहरूप्रति आभार प्रकट गर्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक अभिव्यक्ति दिएका छन्। “सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु,” उनले भने, “जिल्ला अदालतको आदेशले कारागार चलान हुँदा पनि म आदेशको पालना गर्दै खुशी साथ नै कारागार गएको थिएँ।”
उनले कारागारलाई पनि “घरभन्दा फरक नलागेको” भन्दै कारागार प्रशासन, प्रहरी र कैदी साथीहरूप्रति समेत कृतज्ञता प्रकट गरेका छन्।
“न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भने, “म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु।”
उनका अनुसार अब तरिका र शैलीमा परिवर्तन आउन सक्ला तर नागरिक र राष्ट्रप्रति समर्पणभाव भने परिवर्तन नहुने स्पष्ट पारिएको छ।
कारागारमा रहँदा पाएको साथ, सहयोग र हौसलाका लागि उनले नेपालभित्र र बाहिर रहेका सबै शुभेच्छुकहरूप्रति हृदयदेखि धन्यवाद दिएका छन्।


























