प्रहार समाचार । काठमाडौँ, १९ साउन २०८२ सोमवार । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएर पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले काठमाडौं जिल्ला अदालतको पुर्पक्ष थुनाको आदेश बदर गर्दै सोमबार नयाँ आदेश दिएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अभियुक्तहरूमाथि लगाइएका राजद्रोह, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी अभियोग तत्कालै विश्वास गर्नसक्ने पर्याप्त आधार नभएको ठहर गरेको छ।
अदालतको आदेशअनुसार दुर्गा प्रसाईलाई ३ लाख रुपैयाँ, सुशील बराल र सरोज गौतमलाई जनही ५०–५० हजार रुपैयाँ तथा दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न भनिएको छ। प्रसाई रिहा हुने भएपछि अहिले कारागार परिसरमा दुर्गा प्रसाईका समर्थकहरुको ठूलो भिड लागेको छ।


























