प्रहार समाचार । काठमाडौँ,१९ साउन २०८२ सोमवार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये दुई लाख ८२ हजार ४६५ जना उत्तीर्ण भएका छन्। परीक्षा बोर्डका अनुसार २०७ जनाले ग्रेडिङ प्रणालीअनुसार ‘ए प्लस’ समकक्ष ४ जिपिए प्राप्त गरेका छन् भने १३ हजार ५०२ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिएसम्म अंक ल्याएका छन्।

बोर्डका परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका उपनियन्त्रक लक्ष्मी प्रसाद सापकोटाले परीक्षाको नतिजा निष्पक्ष, स्वच्छ र समयमै सार्वजनिक गर्न सकिएको बताएका छन्। उनका अनुसार कुल ४ लाख ३० हजार ९७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। बाँकी विद्यार्थीले न्यूनतम जीपीए ल्याउन नसकेर अनुपयुक्त ग्रेड प्राप्त गरेका छन्।
सापकोटाले परीक्षामा विद्यार्थीको समग्र प्रदर्शन सन्तोषजनक रहेको उल्लेख गर्दै उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या अघिल्ला वर्षको तुलनामा केही कमी देखिएको बताए। “हामी निरन्तर सुधारको प्रक्रियामा छौं,” उनले भने, “आगामी वर्षहरूमा परीक्षाको गुणस्तर अझ सुदृढ गर्ने योजना बनाइएको छ।”


























