प्रहार समाचार । काठमाडौं, १९ साउन २०८२ सोमवार । कक्षा १२ को परीक्षा परिणाम केहिबेरमै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बसेको बैठकमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको जानकारी परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दिएका छन्। उनका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम प्राविधिक तयारी चलिरहेको छ।

परीक्षा नियन्त्रक शर्माका अनुसार बाँकी रहेका केही प्राविधिक कामहरु एक घण्टाभित्र पूरा हुने र त्यसपछि नतिजा सार्वजनिक गरिने तयारी छ। विद्यार्थीले नतिजा बोर्डको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्। बोर्डले नतिजा प्रकाशन प्रणालीलाई सुलभ र पहुँचयोग्य बनाउन आवश्यक प्रविधि अपनाएको बताइएको छ।
यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो। परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए। लामो समयदेखि प्रतिक्षामा रहेका विद्यार्थी र अभिभावकहरू अब छिट्टै आफ्नो मेहनतको मूल्याङ्कन थाहा पाउने भएका छन्।


























