प्रहार समाचार । तनहुँ, १८ साउन २०८२ आइतवार । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, स्थित छिर्कनेमा आज दिउसो ईभी माइक्रोबस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको माइक्रोबस डिभाइडरमा ठोक्किएर सडकमा पल्टिन पुगेको थियो ।

दुर्घटनामा परेर घाइते भएकामध्ये ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने ३ जना मध्यम घाइते भएका छन्। सबै घाइतेको उपचार दमौली अस्पतालमा भइरहेको छ। तत्काल उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
ईभी माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























