प्रहार समाचार । काठमाडौं, १७ साउन २०८२ शनिवार । अमेरिकामा अस्थायी संरक्षणको सुविधा (टेम्पोररी प्रोटेक्टेड स्टाटस–TPS) लिएका नेपालीलाई ठूलो राहत मिलेको छ। संघीय अदालतले तत्काल यो सुविधा खारेज नगर्न आदेश दिएपछि अमेरिका बसोबास गरिरहेका हजारौं नेपाली नागरिकलाई पुनः आशाको किरण देखिएको हो। सन् २०७२ को विनाशकारी भूकम्पपछि अमेरिकाले नेपाललाई यो विशेष मान्यता दिएको थियो, जसले आप्रवासी नेपालीहरूलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न कानुनी अधिकार प्रदान गर्दै आएको छ।

सामान्यतः प्राकृतिक विपद्, सशस्त्र द्वन्द्व वा गम्भीर अस्थिरता भएका मुलुकका नागरिकलाई लक्षित गरेर दिइने यो सुविधा नेपालमा भूकम्पपछिको अवस्थालाई ध्यानमा राखी सुरु गरिएको हो। पछिल्लोपटक अमेरिकी सरकारले टिपिएस खारेज गर्ने निर्णय गरेपछि नेपाली लाभार्थीलाई आगामी अगस्ट ६ सम्म फर्कनुपर्ने अवस्था आएको थियो। तर संघीय अदालतको आदेशपछि अब उनीहरूलाई २०२५ नोभेम्बर १८ सम्म अस्थायी राहत मिलेको छ।
हाल अमेरिकामा टिपिएस सुविधा लिएका नेपालीको सङ्ख्या करिब ७ हजार ५ सयदेखि ८ हजारको हाराहारीमा रहेको अनुमान छ। यो निर्णयले उनीहरूलाई केवल बसोबासको मात्र होइन, रोजगारीको समेत सुरक्षाको ग्यारेन्टी दिएको छ। यद्यपि, आगामी नोभेम्बरमा अन्तिम सुनुवाइपछि टिपिएस को भविष्यबारे ठोस निर्णय हुने भएकाले नेपाली समुदाय अझै अनिश्चितताको छायामा रहेको देखिन्छ। तर हाललाई भने अदालतको यो आदेशलाई उनीहरूले ठूलो जितका रूपमा लिएका छन्।

























