प्रहार समाचार । तनहुँ, १७ साउन २०८२ शनिवार । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको नवौं वार्षिक साधारण सभा एवम् चौथो अधिवेशन दमौलीमा आज सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि आँबु खैरेनी श्रष्ठा समाजका अध्यक्ष एवं कवि अनिल श्रेष्ठले तनहुँको साहित्यिक योगदानको प्रशंसा गर्दै यहाँको समृद्ध साहित्यिक परिवेशको चर्चा गरे। श्रेष्ठले तनहुँ जिल्लाले नेपाली साहित्यमा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न संस्थागत प्रयास आवश्यक रहेको धारणा राखे।

विशिष्ठ अतिथि डा. याम बहादुर थापाले साहित्यमा मूल्य र चेतनाको सुदृढीकरणमा जोड दिनुपर्ने तर्क गर्दै साहित्यलाई समाज रुपान्तरणको सशक्त माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गौकुमार न्यौपानेले साहित्यको विकासका लागि सबैलाई समेटेर सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताइन् ।
नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शंकरराज नहर्कीले पछिल्लो पुस्तामा साहित्यप्रति घट्दो चासोलाई सकारात्मक रूपमा रूपान्तरण गर्न प्रशिक्षण तथा साहित्यको महत्वका बारेमा प्रशिक्षणको आवश्यकता औंल्याए।

कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्व अध्यक्ष सागर उदास, प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष विनोद कुमार बिक विश्वास, र साहित्यकार राजु दाहाल लगायतले आ–आफ्नो मन्तव्य राख्दै साहित्यिक एकता र सिर्जनशीलताको सुदृढीकरणमा जोड दिए।
कार्यक्रमको अध्यक्षता आकाश अधिकारीले गरेका थिए। अधिवेशनले पुनः आकाश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। जसमा उपाध्यक्षमा दिवाकर भट्टराई र लक्ष्मी तिमल्सिना, सचिवमा माधव प्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा बन्धुराज अधिकारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा अन्जना तिमिल्सिना, दिब्या काफ्ले, गिता रखाली मगर, दीपक गैरेसहित एक सदस्य पछि मनोनीत गरिनेछ।

अधिवेशनपछि निर्वाचन मण्डलका संयोजक अधिवक्ता विष्णुभक्त सिग्देलले कार्यसञ्चालन तथा परिणाम घोषणा गरेका थिए। कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले गरेका थिए भने सहजीकरण सचिव माधव अधिकारीले गरेका थिए।
साहित्यिक समर्पण र सृजनशीलतालाई केन्द्रमा राख्दै सम्पन्न भएको अधिवेशनले तनहुँको साहित्यिक आन्दोलनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

























