• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १७ साउन २०८२ शनिवार । नेपाली छन्दकाव्यको अभ्यास र प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाउँदै आएको पिङ्गल छन्द प्रतिष्ठान नेपालले लमजुङले बालविकास माध्यमिक विद्यालय, बेसीशहर–११ मा छन्द सम्बन्धी प्रयोगात्मक प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ।

कक्षा ६ देखि १० सम्मका करिब ८० जना विद्यार्थी तथा शिक्षकहरू सहभागी रहेको कार्यक्रममा साहित्यकार एवं प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीकृष्ण न्यौपानेले छन्द र कविता लेखनका प्रयोगात्मक पक्षमा केन्द्रित प्रशिक्षण दिए। उनले बालौरी, सवाई, रोइला र झ्याउरेजस्ता लोकछन्दका अभ्यास गराउँदै शास्त्रीय छन्दका लक्षणहरूबारे पनि स्पष्ट पारे।

सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सँगसँगै कार्यक्रममा युवा स्रष्टा श्यामविक्रम न्यौपानेले भाषा, कविता, छन्दका विभिन्न प्रकार, इतिहास र समसामयिक अवस्था समेट्दै सैद्धान्तिक जानकारी प्रस्तुत गरे।
विद्यालयका प्रधानाध्यापक मदनराज सेढाईका अनुसार कार्यक्रमले विद्यार्थीमा कविता लेखनप्रति अभिरुचि जागृत गराउनुका साथै छन्दका बारेमा आधारभूत ज्ञान प्रदान गर्न मद्दत पुर्याएको छ। “विद्यार्थीहरूले प्रशिक्षणपछि जुन स्तरका कविता लेखेर प्रस्तुत गरे, त्यसले कार्यक्रमको प्रभाव प्रस्ट देखाउँछ”, उनले भने।

साहित्यिक उपहारसहित सम्मान :
कार्यक्रमका अवसरमा विद्यालयलाई प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्यौपानेले आफ्ना महाकाव्य ‘रातो बाघ’, ‘विषालु धरती’, ‘कोरोना’ लगायत एक दर्जन कृति विद्यालय पुस्तकालयका लागि हस्तान्तरण गरे। साथै, युवा कवि श्यामविक्रम न्यौपानेको महाकाव्य ‘हराएको हिरा’ पनि विद्यालयलाई प्रदान गरिएको थियो।

स्थानीय स्रष्टाहरूको सक्रियता :
कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू रामचन्द्र सेढाई, सरिता घिमिरे, श्यामविक्रम न्यौपाने र नविन परियारको उपस्थिति रहेको थियो। शिक्षक रामचन्द्र सेढाईले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक एवं मखमली चिति मञ्चका सचिव नविन परियारले कार्यक्रमको सहजिकरण गरेका थिए।
छन्द साहित्यको पुनर्जागरण र नयाँ पुस्तामा यसको अभिरुचि विकास गर्ने उद्देश्यका साथ स्थापना गरिएको प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ।

























