प्रहार समाचार । काठमाडौं, १७ साउन २०८२ शनिवार । देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले हाल देशभर सामान्य बदलीको अवस्था छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा देखिएको छ।
आज दिउँसो गण्डकी र लुम्बिनीसहित देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित मध्यम वर्षा तथा कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

























