आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

चितवनको मुग्लिङ बजारस्थित एक होटलको कोठाबाट शृङ्खलाबद्ध चोरीका गहना सहित चार जना पक्राउ

प्रहार समाचार । तनहुँ, १७ साउन २०८२ शनिवार । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारको भागीरथी होटलबाट सुनगहना र विभिन्न बहुमूल्य सामानसहित चार जना पक्राउ परेका छन्। दुई दिनदेखि होटलमा कोठा लिएर बसेका उनीहरूबीच विवाद भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक द्वारिका खवासको नेतृत्वमा गएको टोलीले उनीहरूलाई शुक्रवार नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू शंकास्पद रूपमा गहना लुकाएर बसेको देखिएपछि चोरीको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१० का ३० वर्षीय रवि बिक, तनहुँको व्यास नगरपालिका–२ का १९ वर्षीय विशाल थापा, ऐ ऐ गाउँपालिका–६ की १८ वर्षीया सरिता परियार र ऐ ऐ गाउँपालिका–२ की ३४ वर्षीया साहिदा खान रहेका छन्। उनीहरूबाट mini safe, लगेज, तीनवटा लेडिज झोला, विभिन्न ब्रान्डका घडी, क्रिस्टल माला, बराही सुनचाँदी पसल र गुरुङ गहना प्रा.लिका लेबलसहितका गहना बरामद गरिएको छ।

बरामद सामग्रीमा सुनजस्तो देखिने पहेँलो धातुबाट बनेका तिलहरी, नौगेडी माला, चन्द्रमा, बाला, औँठी, टप, मंगलसूत्रलगायतका गहना रहेका छन्। प्रहरीले घटनालाई सम्भावित शृङ्खलाबद्ध चोरीको रूपमा लिएर थप अनुसन्धान थालेको जनाएको छ। पक्राउ परेकाहरूलाई हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखेर अनुसन्धान अगाडि बढाइएको कार्यालयका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button