आज साउन १५ गते, नेपाली समाजमा विशेष रूपमा खिर खाएर मनाउने चलन रहेको छ। यो दिनलाई शुभ, पवित्र तथा पारिवारिक एकता र समृद्धिको प्रतीकका रूपमा पनि लिइन्छ।

खिर खाने परम्परा — सांस्कृतिक पृष्ठभूमि :
नेपालमा विशेष पर्व वा तिथि अनुसार विशेष परिकार खाने परम्परा छ।
असार १५ मा दही–च्युरा: यो कृषिप्रधान संस्कृतिको प्रतीक हो, किनभने असार महिनामा धान रोपाइँ सकिने बेला हो। यस दिन श्रमिक किसानलाई सम्मान गर्दै पोषिलो परिकार खुवाइन्छ।
साउन १५ मा खिर: खिर शुभ र सात्त्विक परिकार हो। वर्षा ऋतुको बीचमा पर्ने यो दिन वर्षको मध्यबिन्दुमा रहेको संकेतका रूपमा लिइन्छ र घर–परिवारमा दूध, चामल, चिनी मिसाएर बनाइएको मीठो खिर खाइन्छ।
खिरको सांस्कृतिक महत्व :
खिरलाई नेपाली समाजमा शुभ कार्य, पूजा, ब्रतबन्ध, विवाह आदि अवसरमा पवित्र परिकार मानिन्छ। आजकै दिन मनकारी व्यक्तिहरुले जेष्ठ नागरिक मिलन केन्द्र, बृद्धाश्रम लगायतमा रहेका नागरिकहरुलाई खर खुवाएर मानविय भाव समेत व्यक्त गरेको पाइन्छ।

दूध र चामल स्वास्थ्यका हिसाबले पनि लाभदायक हुने हुँदा वर्षा ऋतुमा शारीरिक सन्तुलन राख्न मद्दत गर्छ। आजको दिन खिर खाएर आफू र आफ्नो परिवारको सुख–शान्तिको कामना गर्ने चलन रहँदै आएको छ। सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा पनि “साउन १५ को खिर” का तस्बिरहरू भाइरल हुने गर्छन्। ‘साउन १५ को खिर पर्वले तपाईंको जीवनमा मिठास, स्वास्थ्य र समृद्धि ल्याओस्।’ शुभकामना ।


























