प्रहार समाचार । काठमाडौँ, १५ साउन २०८२ बिहीवार । सुदूरपश्चिमका डोटी, अछाम, जाजरकोटलगायत जिल्लामा रातभर निरन्तर वर्षा भएको छ। पहाडी भूभागमा सम्भावित भू–स्खलनको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज देशभर सक्रिय मनसुनी प्रणालीका कारण बागमती र गण्डकीका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गरेको छ। सम्भावित बाढी, पहिरो र चट्याङबाट जोगिनका लागि स्थानीय तह र सुरक्षा निकायहरू तयारी अवस्थामा राखिएको जनाइएको छ ।
आज राति मधेश, सुदूरपश्चिमसहित देशका केही पहाडी र तराई भूभागमा चट्याङसहितको मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी खुला ठाउँमा नजाने, सुरक्षित स्थानमा बस्ने र पूर्वजानकारी लिनेमा जोड दिइएको छ।


























