प्रहार समाचार । काठमाडौं, १४ साउन २०८२ बुधवार । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका हजार बढिको शव नेपाल फर्किएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा १ हजार ४ सय १ जना नेपाली श्रमिकको शव नेपाल फर्किएको हो । यसरी आएका शवहरुम सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका रहेका छन्। कामका लागि विदेश गएका युवाशक्ति मृत्युको अवस्थामा फर्किन थालेपछि वैदेशिक रोजगारीको जोखिमपूर्ण यथार्थ पुनः उजागर भएको छ। यो तथ्यांकले एकातिर मुलुकको बेरोजगारी संकट झल्काउँछ भने अर्कातिर युवाको सुरक्षित भविष्यप्रति सरकारको तयारीमाथि प्रश्न उठाउँछ।
वैदेशिक रोजगार विभागले मृतकका परिवारलाई राहतस्वरूप १ अर्ब २ करोड रुपैयाँभन्दा बढी वितरण गरिसकेको छ। तर, शोकमा डुबेका परिवारका लागि आर्थिक सहायता मात्र पर्याप्त छैन भन्ने आवाजहरू उठ्न थालेका छन्। कति परिवारले कानुनी प्रक्रिया झेल्न नसकी राहत लिनसमेत मुस्किल पारेका छन्। पारिवारिक संरचना, आर्थिक सन्तुलन र सामाजिक मनोविज्ञानमा पर्ने असरसमेत लामो समयसम्म रहिरहने अवस्था देखिन्छ ।

विशेषगरी खाडी मुलुकहरू र मलेसियामा श्रमिकको मृत्यु बढी हुने गरेको विगतको अनुभव दोहोरिएको छ। वैदेशिक रोजगारी नीतिको पुनरावलोकन, श्रमिक सुरक्षा सुदृढीकरण, गन्तव्य मुलुकहरूसँग प्रभावकारी सम्झौता तथा पूर्व तयारी तालिममा सुधारको माग उठिरहेका छन्। युवाशक्ति गुमाउँदै गरेको मुलुकमा, यस्तो त्रासद तथ्याङ्कले राष्ट्रिय नीतिमा गम्भीर हस्तक्षेपको खाँचो औंल्याउँछ। सरकारले राहत मात्र होइन, दीर्घकालीन रणनीति तयार गर्नुपर्ने बेला आएको विश्लेषकहरूको भनाइ छ।


























