प्रहार समाचार । काम्चात्स्की (रुस), १४ साउन २०८२ बुधवार । रुसको सुदूर पूर्वी क्षेत्र काम्चात्स्की नजिकै शक्तिशाली भूकम्प गएको छ। मंगलबार स्थानीय समयअनुसार बिहान ८.८ रेक्टर स्केलको अमेरिकी भूगर्भ सर्भे (USGS) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा केन्द्रित थियो। शक्तिशाली कम्पनको अनुभूति रुसको पूर्वी क्षेत्रमा मात्र नभई प्रशान्त महासागरका अन्य क्षेत्रहरूमा पनि भएको जनाइएको छ ।

भूकम्पपछि प्रशान्त महासागरमा सम्भावित ठूलो लहर अर्थात् सुनामीको चेतावनी जारी गरिएको छ। जापान सरकारले आफ्नो उत्तरपूर्वी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै करिब २० लाख नागरिकलाई घर छाड्न आग्रह गरेको छ। जापानको मौसम विज्ञान विभाग जेएमएका अनुसार केही तटीय क्षेत्रमा तीन मिटरसम्मको लहर आउन सक्ने सम्भावना रहेकोले तत्काल सुरक्षाका उपाय अपनाउन जनतालाई अपिल गरिएको छ।

हालसम्म रुस वा जापानमा मानवीय क्षतिको विवरण खुलेको छैन। यद्यपि, भूकम्पपछि बिचबिचमा परकम्पहरू महसूस गरिएको र स्थानीय आपतकालीन सेवाहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ। अन्तर्राष्ट्रिय समुदायले सम्भावित क्षति र मानवीय संकटलाई मध्यनजर गर्दै आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहनुपर्ने विज्ञहरू बताउँछन्।


























