हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ प्रशासनको राजस्व सङ्कलन ७ करोड ७६ लाख नाघ्यो

प्रहार समाचार । तनहुँ, १४ साउन २०८२ बुधवार । जिल्ला प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/०८२ मा सेवा मात्र होइन, राजस्व सङ्कलनमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। कार्यालयले सो अवधिमा कुल ७ करोड ७६ लाख १० हजार ९६२ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो।

सबैभन्दा बढी ७ करोड ३९ लाख ५ हजार रुपैयाँ राहदानी दस्तुर शीर्षकबाट सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसले राहदानी सेवा क्षेत्र प्रशासनको प्रमुख राजस्व श्रोत बनेको स्पष्ट देखिन्छ। त्यसपछि संघ-संस्था दर्ता/नविकरणबाट १३ लाख ७५ हजार ६५० रुपैयाँ, हातहतियार नविकरण तथा नामसारीबाट ८ लाख ३९ हजार ३७५ रुपैयाँ र न्यायिक दण्ड तथा जरिवानाबाट १२ लाख ३१ हजार ४०७ रुपैयाँ संकलन गरिएको हो। यस्तै प्रशासनिक जरिवाना तथा जफत शीर्षकमा ५५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार ५ सय, बेरुजु दाखिलाबाट ३२ हजार, परीक्षा शुल्कबाट १७ हजार १ सय र सरकारी सम्पत्ति वहालको आयबाट १ लाख ३५ हजार ९३० रुपैयाँ राजस्व संकलन भएको छ।

राजस्व सङ्कलन र सेवा वितरणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यालयले नागरिकलाई छिटोछरितो सेवा उपलब्ध गराउनुका साथै राज्यको आय बढाउने कार्यमा पनि सन्तोषजनक उपलब्धि हासिल गरेको जानकारी दिए।

“सेवा प्रभावकारी बनाउनु हाम्रो पहिलो दायित्व हो, तर त्यससँगै राज्यको आम्दानी बढाउने जिम्मेवारी पनि प्रशासनले वहन गर्दै आएको छ,” प्रजिअ अधिकारीले भने। उनका अनुसार कार्यालयले एक वर्षको अवधिमा १ लाख ४७ हजार ८३१ जनालाई सेवा प्रदान गरेको छ, जसमा सबैभन्दा बढी राष्ट्रिय परिचयपत्र, राहदानी र नागरिकता वितरण रहेका छन्।

राजस्व सङ्कलनसँगै प्रशासन कार्यालयले विपद् पीडित १३ जनालाई १३ लाख ८० हजार र वैदेशिक रोजगार पीडित १६ जनालाई ५३ लाख ५० हजार ८८ रुपैयाँ ३६ पैसा राहत पनि वितरण गरेको छ। यसले कार्यालयको सेवा प्रभावकारिता मात्र होइन, नागरिकप्रतिको उत्तरदायित्वलाई पनि देखाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button