प्रहार समाचार । काठमाडौं, १४ साउन २०८२ बुधवार । एकैदिन देशका विभिन्न ठाउँबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। काठमाडौं चन्द्रागिरी-२ नागढुङ्गाबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषध ७ ग्राम ५ सय मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। बर्दिया गुलरिया-११ का २२ वर्षीय जलिल अहमत सई र ३१ वर्षीय प्रेम राईदासलाई प्रहरीले नागढुङ्गा नाका नजिकै बर्दियाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा मङ्गलवार पक्राउ गरेको हो।


यसैगरी, सुनसरीको इनरुवा-४ बसचोकबाट करिब ४ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी-६ का ३६ वर्षीय प्रविन तामाङ र मोरङ उर्लाबारी-१ का २४ वर्षीय किरण बिक रहेका छन्। उनीहरूलाई बसपार्क क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
उता सिन्धुलीको कमलामाई-९ भिमानबाट करिब २७ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दुई जना भारतीय नागरिक मोहम्मद रिजवान र मोहम्मद इकरार, काठमाडौं बुढानीलकण्ठका सरोज बास्तोला र सर्लाहीका अशोक हिङमाङ छन्। यस्तै, मकवानपुरको हेटौंडा-१८ रामधुनी चोकबाट ट्रामाडोल ५० ट्याब्लेटसहित १८ वर्षीय किशोर पक्राउ परेका छन्। सबै घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


























