प्रहार समाचार । तनहुँ, १४ साउन २०८२ बुधवार । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारका २६ वर्षीय कमलेस चन्द रहस्यमय ढंगले बेपत्ता भएको घटनामा संलग्न आशंकामा सात दिनपछि थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ऋषिङ -१, झापुटारका युवक सगुन गर्जामगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनलाई सर्लाहीको लालबन्दीबाट पक्राउ गरिएको हो। गर्जामगरका बुबामार्फत सम्पर्क गराई उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि पक्राउ परेका झापुटारका बिनोद आले, छविलाल (जेसन) आले, सागर थापा, विजय थापा र सबिन थापालाई पाँच दिनको म्याद थप गर्दै अनुसन्धान थालिएको छ। प्रहरी नियन्त्रणमा रहेका दुई युवतीमाथि पनि अनुसन्धान जारी छ। यदि उनीहरुको संलग्नता पुष्टि भएमा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ।

पीडित कमलेस चन्दका आफन्त र स्थानीयले स दमौली बजारमा प्रदर्शन गर्दै “कि सास कि लास” नारासहित प्रहरीलाई दबाब दिएका थिए। उनीहरूले तत्काल खोजतलास तीव्र गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको विशेष टोली र जिल्ला प्रहरीको समन्वयमा अनुसन्धानलाई थप प्रभावकारी बनाउने विश्वास प्रहरी प्रशासनले जनाएको छ।


























