प्रहार संवाददाता । तनहुँ, १२ साउन २०८२ सोमवार । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारबाट बेपत्ता भएका २६ वर्षीय कमलेश चन्दको खोजी कार्य छैटौं दिनसम्म पनि निष्कर्षमा नपुगेपछि घटनाले रहस्यमय मोड लिएको छ।

साउन ७ गते रातिदेखि बेपत्ता भएका चन्दको विषयमा अनुसन्धान तीव्र पार्दै प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको टोलीले जिल्ला प्रहरीको सहयोगमा खोजी र अनुसन्धानलाई सक्रिय बनाएको छ। टेक्निकल सहयोगसहित आएको तीन सदस्यीय प्रहरी टोलीले चन्द बेपत्ता प्रकरणको पछिल्लो गतिविधि सूक्ष्म रुपमा अध्ययन गरिरहेको छ। तै पनि स्थानिय जनस्तरबाट भने चन्दको खोजि छिटो गर्न प्रहरीलाई चर्को जन दबाब परेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले अनुसन्धानलाई कुनै कसर बाँकी नराखी चन्दको अवस्थाबारे सत्यतथ्य बाहिर ल्याउन प्रहरी क्रियाशील रहेको बताए। घटनामा संलग्न हुन सक्ने आशंकामा पाँच जनालाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि सोधपुछ भइरहेको डिएसपी अशोक थापाले जानकारी दिए। प्रहरी स्रोतका अनुसार सेतीनदी किनार क्षेत्र, झाडी, सुनसान स्थान लगायतका सम्भावित क्षेत्रहरूमा खोजी कार्य निरन्तर भइरहेको छ।
यता पीडित परिवार, आफन्त र स्थानीयबासीले चन्दको अवस्था यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। “कि सास कि लास” चाहिएको भन्दै चन्दका आफन्तजन र शुभचिन्तकहरूले प्रहरी प्रशासनलाई दबाब दिँदै आएका छन्। खोजीमा ढिलाइ र बेवास्ता भए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन्। घटनाले सामाजिक चासो लिँदै गएपछि अनुसन्धान र खोजतलासको दायरा थप फराकिलो पारिएको प्रहरी स्रोत बताउँछ।

























