प्रहार समाचार । तनहुँ, १३ साउन २०८२ गलवार । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रशासन कार्यालय, तनहुँले विभिन्न सेवा प्रवाह, प्रमाणिकरण, सिफारिस, राजस्व संकलन तथा राहत वितरण लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमवार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक रूपमा तथ्यांक प्रस्तुत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।


कार्यालयबाट सो अवधिमा जम्मा ५ हजार ४ सय ८४ वटा प्रमाणिकरण र सिफारिससम्बन्धी कार्य सम्पन्न गरिएको छ। तीमध्ये आदिवासी/जनजातिको प्रमाणिकरण संख्या १ हजार ७५ रहेको छ, जसमा ५ सय ११ जना महिला र ५ सय ६४ जना पुरुष छन्। दलित प्रमाणिकरणको संख्या ५ सय१२ रहेको छ, जसमा महिलाको प्रतिनिधित्व ४२% रहेको जनाइएको छ। विपन्न खस आर्य समुदायका १ सय ४ जनालाई प्रमाणिकरण गरिएको छ भने मुस्लिम समुदायका ७४ जनालाई यो सेवा प्रदान गरिएको छ।

त्यस्तै शरणार्थीका लागि यात्रा अनुमति पत्र १० जनालाई सिफारिस गरिएको छ। पेन्सन सिफारिसका लागि १ हजार २ सय ५५ जनालाई सेवा दिइएको छ भने अन्य विविध सिफारिसको संख्या २ हजार ३ सय २ रहेको छ। यसबाहेक, १ सय ५२ जना तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरिएको छ। समग्ररूपमा सिफारिस तथा प्रमाणिकरणमा महिलाको सहभागिता करिब ९ प्रतिशत मात्र देखिएको छ।
सेवाका अतिरिक्त कार्यालयले विभिन्न शीर्षकहरूबाट ७ करोड ७६ लाख १० हजार ९ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। राहदानी दस्तुर शीर्षकबाट मात्र ७ करोड ३९ लाख ५ हजार रुपैयाँ राजस्व उठाइएको छ। यस्तै संघ-संस्थाको दर्ता तथा नविकरणबाट १३ लाख ७५ हजार ६ सय ५० रुपैयाँ, हातहतियार नविकरण/नामसारीबाट ८ लाख ३९ हजार ३ सय७५ रुपैयाँ, र न्यायिक तथा प्रशासनिक जरिवाना शीर्षकबाट १२ लाख ३१ हजार ४ सय ७ रुपैयाँ संकलन भएको छ।

प्रशासनले विपद् पीडित १३ जनालाई संघीय तथा प्रदेश सरकारको तर्फबाट गरी कुल १३ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। त्यस्तै, वैदेशिक रोजगारीमा पीडित १६ जनालाई ५३ लाख ५० हजार ८८ रुपैयाँ ३६ पैसा राहत वितरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी अधिकारीले कार्यालयको सेवा प्रवाहमा पारदर्शिता र जनमुखी कार्यशैलीलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन नागरिक, सञ्चारमाध्यम र सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
























